२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार आकांक्षीहरू नख्खु पुगे, रविसँग भेटपछि आजै घोषणा हुने



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १५२
  • काठमाडौं, भदौ १५ - रुपन्देही–३ को आगामी उपनिर्वाचनमा उम्मेदवार बन्ने इच्छा राखेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन्।

    सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेलाई केही दिनअघि मात्र भैरहवाबाट नख्खु कारागार सारिएको थियो। पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरूले सभापतिलाई भेटेर आफ्नो धारणा राखेका हुन्।

    रास्वपाले आजै सचिवालय बैठक बसेर उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। आकांक्षीहरूको भेटपछि हुने बैठकले अन्तिम निर्णय गर्ने बताइएको छ।

    रुपन्देही–३ बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन्। उनीहरूमा केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम अग्रवाल छन्।

    कुसुम, मधु, सुलभ र जीतबहादुर बाहेकका पाँच जना आकांक्षी भैरहवाका स्थानीय हुन्।

    रुपन्देही–३ का प्रतिनिधि दीपक बोहराको निधन भएपछि रिक्त भएको स्थानमा कात्तिक १७ गते निर्वाचन आयोगले उपनिर्वाचन गर्ने कार्यक्रम तय गरेको हो।