२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

झुम्का कारागारमा भाइरल ज्वरो फैलिँदा ३ कैदीबन्दीको मृत्यु, ४०० भन्दा बढी बिरामी



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ११५
  • विराटनगर, भदौ १९ – सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदै जाँदा पछिल्लो चार दिनमा तीन कैदीबन्दीले ज्यान गुमाएका छन् भने ४०० भन्दा बढी बिरामी परेका छन्।

    कारागार प्रशासनका अनुसार बुधबार साँझ सप्तरी घर भएका ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको हो। जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि इनरुवास्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो।

    यसअघि भदौ १५ गते रामदेव उराउ र १६ गते सागर राईको पनि ज्यान गइसकेको थियो। उराउ कर्तव्यज्यान मुद्दामा र राई लागुऔषध मुद्दामा सजाय काटिरहेका थिए। दुवै जनामा स्वास्थ्य समस्या गम्भीर बनेपछि उपचारका क्रममा निधन भएको जेल प्रशासनले जनाएको छ।

    झुम्का कारागारका ए र बी ब्लकमा हाल १,७९५ कैदीबन्दी छन्। तीमध्ये ४०० जनाभन्दा बढीमा ज्वरोको लक्षण देखिएको निमित्त जेलर राम निरौलाले जानकारी दिए। उनका अनुसार हालसम्म १९ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्य कैदीबन्दीलाई शिविरमार्फत कारागारभित्रै स्वास्थ्य परीक्षण र उपचार सुरु गरिएको छ।

    ‘भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सक टोलीले निष्कर्ष निकालेको छ। अहिले अवस्था नियन्त्रणमै छ, तर थप जाँच भइरहेको छ,’ जेलर निरौलाले बताए।

    उनका अनुसार बुधबारको तुलनामा बिहीबार संक्रमितको संख्या केही घटेको छ। स्वास्थ्यकर्मी र अस्पतालसँग सहकार्य गरेर कारागारभित्रै उपचार सेवा सञ्चालन भइरहेको छ।