२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजनीतिक शून्यताबाट देशलाई निकास दिन सबै दल एकजुट हुनुपर्छ : पौडेल



  • अञ्जना ढकाल
  • ४ हप्ता अघि
  • पाठक संख्या ९६
  • काठमाडौँ, भदौ २६ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप पौडेलले हाल देशमा उत्पन्न राजनीतिक संकट समाधानका लागि सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

    फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गरेका पौडेलले भ्रष्टाचारविरुद्ध जेन जेनरेशन (Gen Z) को आन्दोलनले उजागर गरेका मुद्दा गम्भीर भएको उल्लेख गर्दै संविधान संशोधन र पार्टी नेतृत्वको राजीनामा समेत अब अपरिहार्य बनेको बताए।

    उनले भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे। आन्दोलन शान्तिपूर्ण भए पनि त्यस क्रममा भएको बल प्रयोग, आगजनी र तोडफोड घटनाको निन्दा गर्दै उनले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरे।

    कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतामाथि भएको आक्रमणलाई अस्वीकार्य भन्दै पौडेलले सम्पूर्ण राजनीतिक दललाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे। उनले भने, “देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्षले एकताबद्ध भएर अघि बढ्नुपर्छ।”

    राष्ट्रपतिले सुरु गरेको संवाद पहललाई स्वागत गर्दै पौडेलले युवाले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका मागहरूलाई जायज भन्दै यसैलाई राष्ट्रिय पुनर्जागरणको अवसरमा रूपान्तरण गर्नुपर्ने बताए। उनले नेपाली कांग्रेसले तत्काल बैठक बोलाएर मुलुकलाई निकास दिने कदम चाल्नुपर्ने पनि जोड दिए।