काठमाडौं, भदौ २६ - नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकार गठनको अधिकार संसदकै हातमा रहेको भन्दै संवैधानिक बाटोबाट विचलित नहुन चेतावनी दिएका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले भने, “सरकार बनाउने काम संसदले गर्छ। यो मूल बाटो छाडेर वा तोडेर अघि बढ्ने प्रयास इतिहासमै कलंकको टीका बन्नेछ। यस्तो गल्ती कसैले पनि गर्नु हुँदैन।”
थापाले पछिल्ला राजनीतिक घटनाक्रमलाई असंवैधानिक भन्दै देशी–विदेशी स्वार्थी समूह सक्रिय भएको आरोप पनि लगाए। संसद् विघटनजस्तो कदम संविधानले नस्वीकार्ने उल्लेख गर्दै उनले यसलाई मानव अधिकार र लोकतान्त्रिक उपलब्धिमा धक्का पुग्ने प्रतिगामी प्रयासको संज्ञा दिए।
उनले भने, “आन्दोलनले उठाएका सुशासन र प्रतिनिधित्वको माग संविधान संशोधनमार्फत सम्बोधन गर्न सकिन्छ। संवैधानिक बाटोमै रहेर समाधान खोज्नु बुद्धिमत्तापूर्ण हुनेछ।”
थापाले राष्ट्रपति रामचन्द्र पौडेललाई संविधान विपरीतका गतिविधिमा संलग्न नहुन आग्रह गर्दै आम नागरिकलाई छिट्टै सम्बोधन गरेर आश्वस्त बनाउन पनि सुझाव दिएका छन्। सभामुखलाई प्रतिनिधिसभाको रक्षा गर्न विशेष आग्रह गर्दै उनले सेनालाई शान्ति–सुरक्षामा केन्द्रीत गर्नुपर्नेमा जोड दिए।
उनले थपे, “लोकतन्त्र पक्षधर सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा स्पष्ट पार्दै संविधान र जनमतको संरक्षणका लागि संयुक्त मोर्चा बनाउनुपर्ने आवश्यकता छ।”
प्रतिक्रिया दिनुहोस