१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ध्वस्त मुख्यालयमै एमालेको उद्घोष : इच्छाशक्ति मरेको छैन, हामी उठ्नेछौं



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २२२
  • काठमाडौं, असोज ३ - संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा ध्वस्त भएको पार्टी मुख्यालयको खरानीमै उभिएर नेकपा एमालेका नेताहरूले पुनर्निर्माण र पुनःउत्थानको शपथ लिएका छन्।

    भदौ २४ गते जेनजी आन्दोलनको क्रममा अराजक समूहले ललितपुरस्थित च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा आगजनी गर्दा भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। त्यसै स्थानमा शुक्रबार आयोजित कार्यक्रममा शीर्ष नेताहरूले पार्टी मात्र नभई देशलाई पनि पुनःनिर्माण गर्ने संकल्प गरेका हुन्।

    कार्यक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न भयो भने सञ्चालन महासचिव शंकर पोखरेलले गरेका थिए। प्रमुख वक्ताको रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई पुनः उठाउने दृढता व्यक्त गर्दै भने, “कार्यालय खरानी भएको छ, तर हाम्रो इच्छाशक्ति खरानी भएको छैन। हामी फेरि उठ्नेछौं, कार्यालय पनि पुनःनिर्माण गर्नेछौं, देशलाई पनि उठाउनेछौं।”

    कार्यक्रममा सहभागी कार्यकर्ताहरूले ‘संविधानको रक्षा गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘सुशासन कायम गरौं’ र ‘शान्ति स्थापना गरौं’ जस्ता नाराहरू बुलन्द गरेका थिए।

    पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा उपस्थित भएनन्। आन्दोलनपछि राजनीतिक दबाबमा रहेका ओली पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।

    महासचिव शंकर पोखरेलले एमालेलाई जेनजी पुस्ताको आकर्षण बन्ने गरी अघि बढाइने उल्लेख गर्दै, “चुनौतिबाट विचलित नभई हामी संगठन र देश दुवैलाई अघि बढाउनेछौं,” भने।