काठमाडौं, असोज ६ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारसँग गुनासो गर्दै आफूलाई काम गर्ने मौका नै नदिइएको बताएका छन्। आइतबारको मन्त्रिपरिषद् निर्णयअनुसार शाक्यलाई प्राधिकरण प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो।
शाक्यका अनुसार सरकारले सद्भावसहित सरुवा गरेको भए आफू आयोगमा बसेर पनि सहयोग गर्ने पक्षमा थिए। तर, बिनाकारण पद परिवर्तन गरिएको उनको भनाइ छ। “सरकारले राम्रो मनसाय देखाएको भए म त्यहीअनुसार सहयोग गर्थें, तर प्रतिसोधका आधारमा निर्णय भएको जस्तो लाग्छ,” उनले भने।
उनले प्राधिकरणमा दुईपटक नियुक्त भए पनि दुवै पटक प्रभावकारी ढंगले काम गर्ने अवसर नपाएको पीडा पनि व्यक्त गरे। “म सरकारलाई सहयोग गर्न तयार थिएँ, तर काम सुरु गर्नुअघि नै हटाइयो,” उनले जोड दिए।
शाक्यले अहिले कानुनी संघर्षमा जाने कुनै तयारी नभएको बताए। तर, आगामी दिनमा सरकारले आफ्नो व्यवहार कस्तो देखाउँछ भन्ने आधारमा आफूले बाटो तय गर्ने उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस