काठमाडौँ, असोज १२ – भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले ठूलो मात्रामा गोली र अश्रुग्याँस प्रहार गरेको आन्तरिक प्रतिवेदनमार्फत खुलासा भएको छ।
प्रहरी मुख्यालयको निर्देशनमा बनेको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाएको प्रतिवेदनअनुसार सो क्रममा करिब ६५ सय गोली र ८ हजार अश्रुग्याँसका सेल प्रयोग गरिएको पाइएको छ।
प्रतिवेदनमा काठमाडौँ उपत्यकामा मात्र ४ हजार जङ्गी राउन्ड, २५ सयभन्दा बढी रबर बुलेट र करिब ४ हजार अश्रुग्याँस प्रहार भएको उल्लेख छ। बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ अश्रुग्याँसले सबैभन्दा प्रभावित क्षेत्र बनेका थिए।
त्यस्तै, भिडलाई नियन्त्रणमा लिन २५ सयभन्दा बढी ब्ल्याङ्क राउन्डसमेत प्रयोग गरिएको जनाइएको छ। ब्ल्याङ्क राउन्ड चेतावनीका लागि मात्र प्रयोग हुने बताइन्छ।
सुरक्षाका लागि प्रहरी प्रधान कार्यालय वरिपरिकै क्षेत्रमा मात्र करिब १३ सय अश्रुग्याँस प्रयोग गरिएको प्रतिवेदनले देखाएको छ भने मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार भएको विवरण छ।
प्रतिक्रिया दिनुहोस