२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राहदानी रोक्काप्रति कांग्रेसको आपत्ति, ‘राजनीतिक प्रतिशोध’ को आरोप



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ५०
  • काठमाडौं, असोज १५ – अन्तरिम सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले त्यसप्रति तीव्र आपत्ति जनाएको छ।

    कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारले राजनीतिक प्रतिशोधपूर्ण ढंगले आफ्नै नागरिकलाई विदेश भ्रमण मात्र नभई मुलुकभित्रको आवतजावतसमेत सीमित गर्ने कदम चालेको भन्दै आपत्ति प्रकट गरिएको छ।

    सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे बनेको जाँचबुझ आयोगको सिफारिसका आधारमा ओली र लेखकसँगै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा तथा काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजालको राहदानी रोक्का गर्ने निर्णय गरेको हो।

    यस निर्णयअनुसार उनीहरूलाई विदेश यात्रा गर्न नपाउने मात्र होइन, स्वीकृतिबिना उपत्यका बाहिर जानसमेत रोक लगाइएको छ।

    कांग्रेसले यस्तो कदमलाई लोकतान्त्रिक मूल्यविपरीतको कार्य ठहर गर्दै अन्तरिम सरकारलाई दण्डहीनतालाई प्रोत्साहन नगर्न र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न चेतावनी दिएको छ।

    यसअघि नेकपा एमाले निकट राष्ट्रिय युवा संघले समेत ओली र अन्य नेतामाथि प्रतिशोधपूर्ण व्यवहार भए सह्य नहुने चेतावनी दिएको थियो। हाल सामाजिक सञ्जालमा पनि सरकारको निर्णयलाई लिएर दुवै दलका कार्यकर्ताले आलोचना गरिरहेका छन्।