१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी समावेशी समिति गठनको प्रस्ताव, तोसिमाद्वारा नेतृत्व परिवर्तनको माग



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या ४४७
  • काठमाडौं, कात्तिक २३ — चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित केन्द्रीय बैठकमा डा. तोसिमा कार्कीले पार्टी सुधारका लागि चारबुँदे खाका प्रस्तुत गर्दै नेतृत्व संरचनामा व्यापक परिवर्तनको माग गरेकी छन्।

    उनले महाधिवेशनदेखि वैचारिक पुनर्संरचनासम्मका विषय समेटेर रास्वपाले अब स्पष्ट रूपमा मार्गनिर्धारण गर्नुपर्ने आवश्यकता औंल्याइन्।

    पहिलो प्रस्तावमा कार्कीले महाधिवेशनलाई पार्टीको ‘अक्सिजन’ भन्दै २०८२ मंसिरमै सम्पन्न गर्न आग्रह गरिन्। उनका अनुसार, संगठन विस्तार र चुनावी तयारीका लागि समयमै महाधिवेशन अनिवार्य छ।

    दोस्रो प्रस्तावमा उनले अहिलेको पदाधिकारी तथा सचिवालय संरचना भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने माग उठाइन्। वर्तमान नेतृत्व समावेशी हुन नसकेको आलोचना गर्दै उनले जेनजी, वैकल्पिक शक्ति र बौद्धिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन्।

    कार्कीका अनुसार, महाधिवेशन आयोजक समिति घोषणा भइसकेपछि पनि सचिवालय निरन्तर रहने प्रस्ट कारण नदेखिएकोले नेतृत्वमै पुनर्संरचना आवश्यक छ।

    तेस्रो प्रस्तावमा उनले विचार मिल्न सक्ने दलहरूसँग ‘घण्टी’ चुनाव चिह्न साझेदारी गर्दै एकताको प्रक्रिया अघि बढाउन रास्वपाले पहल गर्नुपर्ने धारणा राखिन्। पार्टीले उदारता देखाएर सबै आकारका दललाई सहकार्यका लागि स्वागत गर्नुपर्ने उनको भनाइ छ।

    चौथो प्रस्तावमा उनले रास्वपालाई मध्यमार्गी राजनीतिक शक्ति बनाउँदै नयाँ वैचारिक ध्रुवीकरण निर्माण गर्नुपर्ने सुझाव दिइन्। वाम–दक्षिण ध्रुवीकरणले देशलाई परिणाममुखी बाटोमा नलैजाने भन्दै आर्थिक–सामाजिक रूपान्तरणका एजेन्डामा रास्वपाले नेतृत्व लिनुपर्ने उनले बताइन्।

    उनका अनुसार, विस्तारित बैठकलाई औपचारिकता मात्र होइन, संगठनात्मक र वैचारिक रूपान्तरण तय गर्ने निर्णायक चरणका रूपमा उपयोग गर्न सके रास्वपा समावेशी, जिम्मेवार र नागरिक अभिमुख राजनीतिक शक्ति बन्न सक्छ।