काठमाडौं, पुस १ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। पार्टीभित्र देखिएका केही समसामयिक विवादित विषयमा छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवाको निवास पुगेका हुन्।
भेटमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या नखुलेका फारम देशभरका जिल्लामा पठाएको विषय प्रमुख रूपमा उठाइएको थियो। कोइरालाले यस्ता फारमका कारण पार्टी संगठनमा अन्योल र जटिलता सिर्जना भएको भन्दै तत्काल ती फारम फिर्ता बोलाई नयाँ फारम वितरण गर्न निर्देशन दिन देउवासँग आग्रह गरेका छन्।
उनले क्रमसंख्या नखुलेका फारमकै आधारमा पार्टीको महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने तर्क राख्दै यसले गम्भीर समस्या निम्त्याउने चेतावनीसमेत दिएका थिए।
त्यस्तै, केन्द्रीय अनुशासन समितिले गरेको कारबाहीको विषयमा पनि कोइरालाले सभापति देउवाको ध्यानाकर्षण गराएका छन्। उनले पार्टीभित्र गरिएका सबै प्रकारका अनुशासन कारबाही फुकुवा गरी महाधिवेशन तथा आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा परिचालन गर्नुपर्ने धारणा व्यक्त गरे।
२०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने निर्णयलाई आधार बनाएर अहिले कारबाही गर्नु उपयुक्त नहुने कोइरालाको भनाइ रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस