काठमाडौं, ९ पुस - जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेसँगै पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन् ।
आयोगलाई दिने बयानबारे परामर्श गर्न लेखक बुधबार देउवासँग भेट्न महाराजगञ्जस्थित निवास पुग्ने तयारीमा छन् । महाराजगञ्ज स्रोतले छलफल तय भएको पुष्टि गरे पनि भेटको समय भने खुलाइएको छैन ।
यसअघि लेखकले आयोगले बयानका लागि बोलाएको विषयमा आफू आन्तरिक परामर्शमा रहेको प्रतिक्रिया दिएका थिए । आयोगले पत्र पठाएको भन्ने जानकारी पाए पनि औपचारिक रूपमा आफूले नपाएको उनको भनाइ छ ।
‘हिजो पत्र पठाएको छ भन्ने सुनेको छु, तर मलाई आएको छैन,’ लेखकले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अबको कदमबारे सल्लाह गरिरहेको छु ।’
विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको जाँचबुझ आयोगले मंगलबार लेखकलाई बयानका लागि बोलाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस