१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अमेरिकी सैन्य कारबाहीमा भेनेजुएलामा कम्तीमा ४० जनाको ज्यान गएको दाबी



  • एजेन्सीको सहयोगमा
  • ८ महिना अघि
  • पाठक संख्या १६७
  • काठमाडौं, पुस २० - अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित कम्तीमा ४० जनाको मृत्यु भएको दाबी गरिएको छ। न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टमा भेनेजुएलाका एक उच्च अधिकारीलाई उद्धृत गर्दै उक्त जानकारी दिएको हो।

    रिपोर्टअनुसार शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न शहरहरूलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो। सोही क्रममा राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई अमेरिकाको न्यूयोर्क लगिएको बताइएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उक्त कारबाहीमा मानवीय क्षति नभएको दाबी गरेका छन्। तर न्युयोर्क टाइम्सको रिपोर्टमा अमेरिकी सेनाले मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले गरेको आक्रमणमा ठूलो संख्यामा मानवीय क्षति भएको उल्लेख छ।

    अमेरिकी अधिकारीहरूका अनुसार उक्त अपरेसनमा १५० भन्दा बढी युद्धक विमान प्रयोग गरी भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिएको थियो। त्यसपछि हेलिकोप्टरमार्फत स्थल सेना परिचालन गरी मादुरो रहेको निवासमा आक्रमण गरिएको थियो।

    हालसम्म ह्वाइट हाउस वा पेन्टागनले मृतकको संख्या र अपरेसनको पूर्ण विवरणबारे औपचारिक पुष्टि गरेका छैनन्। यद्यपि अमेरिकी सेनाले मादुरो दम्पतीलाई शनिबार बिहानै भेनेजुएलाबाट बाहिर ल्याएको स्वीकार गरिएको छ।

    ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र जिम्मेवार सत्ता हस्तान्तरण’ नहुन्जेलसम्म अमेरिकाले प्रशासनिक भूमिका निर्वाह गर्ने बताएका छन्। हाल उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेकी छन्।

    यसैबीच न्युयोर्कको दक्षिणी जिल्ला संघीय अभियोजक कार्यालयले मादुरो र फ्लोरेसविरुद्ध लागुऔषध तस्करीसहित विभिन्न आपराधिक अभियोग दर्ता गरेको छ।

    अमेरिकी कदमप्रति अन्तर्राष्ट्रिय स्तरमा आलोचना बढ्दै गएको छ। आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसको स्वीकृति बिना गरिएको कारबाही भएको र यसले क्षेत्रीय अस्थिरता झनै बढाउने चेतावनी दिएका छन्।