१३ असार २०८३ शनिबार | 27 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सार्वजनिक सम्पत्ति जलाउनेमाथि कडा कारबाही हुनुपर्छ : ओली



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १२८
  • झापा, माघ ७ - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड गर्ने कार्यलाई गम्भीर आपराधिक गतिविधि भन्दै दोषीमाथि कडा कानुनी कारबाही आवश्यक रहेको बताएका छन्।

    गृहजिल्ला झापामा ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचनाहरूको निरीक्षणपछि प्रतिक्रिया दिँदै ओलीले कुनै पनि बहानामा अपराधलाई स्वीकार्न नहुने स्पष्ट पारे। उनका अनुसार राष्ट्रिय सम्पत्ति, नगरपालिकाका भवन, राजनीतिक दलका कार्यालय तथा व्यक्तिका घरमा आगजनी गर्नु कानूनविपरीत कार्य हो।

    “अपराधलाई प्रोत्साहन गर्ने कुनै आधार हुँदैन। देशलाई शान्त र बस्न योग्य बनाउन अपराध नियन्त्रण अनिवार्य छ,” ओलीले भने। अरूको सम्पत्ति जलाउनेहरूलाई उन्मुक्ति दिन नहुने धारणा राख्दै उनले वर्तमान सरकारले अपराधीहरूलाई संरक्षण गरिरहेको आरोपसमेत लगाए।

    ओलीले अन्तरिम सरकारले आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही गर्न हिचकिचाइरहेको दाबी गर्दै यसले गलत सन्देश गएको बताए। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन जिल्लामा पुगेका ओलीले बुधबार बिहान आन्दोलनबाट प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गरेका हुन्।