काठमाडौं, माघ २८ - प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा विदेशमा रहेका नेपाली नागरिकहरूको स्वदेश फर्किने क्रम उल्लेख्य रूपमा बढेको देखिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी कुल २७५ सिटमा मतदान हुँदैछ।
विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले पनि यसपटकको निर्वाचनप्रति विशेष चासो देखाएको बताइएको छ। विदेशमै मतदानको व्यवस्था गर्ने विषयमा अघिल्लो समय चर्चा भए पनि कार्यान्वयन हुन नसकेपछि धेरै नेपालीहरू मतदानका लागि नेपाल फर्किन थालेको अनुमान गरिएको छ।
अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार पछिल्ला दिनहरूमा विदेश जानेभन्दा फर्किनेको संख्या बढी देखिएको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार फर्किनेको संख्या बढेको पुष्टि भए पनि यसको ठोस कारणबारे विश्लेषण भने गरिएको छैन।
माघ १८ देखि २७ गतेसम्म ५१ हजार ७९ जना नेपाली स्वदेश फर्किएका छन् भने सोही अवधिमा ५० हजार जना विदेशिएका छन्। साउदी अरेबियाबाट ४ हजार ७०७ र कतारबाट ५ हजार ५१७ जना फर्किएका छन्।
यसैगरी, पुस १७ देखि माघ १७ सम्मको एक महिनाको अवधिमा १ लाख ५८ हजार १४६ जना नेपाल फर्किएका छन् भने १ लाख ५७ हजार ६५८ जना विदेशिएका छन्। सो अवधिमा यूएई, कतार र साउदी अरेबियाबाट उल्लेख्य संख्यामा नेपालीहरू स्वदेश आएका छन्।
निर्वाचन, नयाँ वर्षको लामो बिदा तथा पारिवारिक भेटघाट जस्ता कारणले पनि स्वदेश फर्किने क्रम बढेको हुन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस