डोल्पा, माघ २९ - डोल्पामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँबाट त्रिपुराकोटतर्फ आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेरो जिप बिहान करिब साढे १० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी घटनास्थलमा जम्मा भएका थिए।
प्रहरीका अनुसार जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी–३ सुँ गाउँकी ४५ वर्षीया रमा बोहोरा तथा चालक घाइते भएका छन्।
घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ। चालक सल्यानको कुमाख गाउँपालिका निवासी २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस