१ फागुन २०८२ शुक्रबार | 13 Feb 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुर कांग्रेसको कडा सर्कुलर : विपक्षी उम्मेदवारलाई लाइक–कमेन्ट नगर्नू



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ३०
  • काठमाडौं, माघ २८ - नेपाली कांग्रेस कञ्चनपुरले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा अन्य दलका उम्मेदवारको पक्षमा देखिने कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ।

    बुधबार जारी विज्ञप्तिमा कांग्रेस कञ्चनपुरले पार्टीका आधिकारिक उम्मेदवारबाहेक अरू उम्मेदवारको समर्थन हुने गरी अभिव्यक्ति दिन, पोस्ट गर्न, लाइक–कमेन्ट गर्न वा प्रचार–प्रसारमा संलग्न हुन नहुने स्पष्ट पारेको हो। उक्त निर्देशन सचिव भीम भट्टद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

    विज्ञप्तिमा सामाजिक सञ्जालका गतिविधिले पार्टीको आधिकारिक धारणा विपरीत सन्देश जान सक्ने उल्लेख गर्दै सबैलाई संयमता अपनाउन आग्रह गरिएको छ। पार्टीको अनुशासन र एकताका लागि यस्तो निर्णय गरिएको जनाइएको छ।

    त्यसैगरी, कांग्रेस कञ्चनपुरले नेता–कार्यकर्तालाई उम्मेदवारको पछि लागेर हिँड्नेभन्दा पनि आ–आफ्नो टोल तथा वडामा केन्द्रित भएर सक्रिय हुन अनुरोध गरेको छ। स्थानीय तहमा मतदाता भेटघाट, छलफल र समन्वय प्रभावकारी बनाउन वडामै सक्रिय रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

    आवश्यकतावश अन्य वडामा जानुपरे सम्बन्धित पार्टी सचिवालयलाई जानकारी गराएर मात्रै जानुपर्ने व्यवस्था पनि गरिएको छ। पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै तहका नेता–कार्यकर्तालाई आफ्नो क्षेत्रमा सशक्त परिचालन भई जनमत सिर्जना गर्न आह्वान गरिएको छ।