काठमाडौं, फागुन ५ - आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निर्वाचन आयोगबाट प्राप्त जिम्मेवारी तोकिएको समयसीमाभन्दा अगावै पूरा गरेको जनाएको छ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फका दुई करोड तीन लाख मतपत्र सोमबार साँझसम्म छापिसकिएको छ। ४२ दिनको कार्यतालिका बनाएर सुरु गरिएको छपाइ ४० दिनमै सकिएको उनले जानकारी दिए। अब छापिएका मतपत्र ‘प्याकेजिङ’ गरी सम्बन्धित प्रदेश र जिल्लातर्फ ढुवानी प्रक्रिया अघि बढाइनेछ।
केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि नमूनाका रूपमा १० लाख मतपत्र छापेर विभिन्न स्थानमा पठाइसकिएको छ। साथै, समानुपातिकतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र पनि क्रमशः जिल्लातर्फ पठाउने काम भइरहेको बताइएको छ।
पौडेलका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक मतपत्र पुगिसकेको छ भने अन्य प्रदेशमा पनि आगामी १० दिनभित्र सबै मतपत्र पुर्याउने लक्ष्यसहित काम भइरहेको छ। निर्वाचन तयारीलाई तीव्रता दिँदै सम्बन्धित निकायहरूले आवश्यक व्यवस्थापन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस