१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मधेश केन्द्रित चुनावी दौडधुपमा राप्रपा, सप्तरीबाट अभियान तीव्र



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, फागुन ७ - आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेश क्षेत्रमा चुनावी गतिविधि तीव्र बनाएको छ ।

    पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बिहीबार सप्तरीको भारदहमा दिउँसो १ बजे आमसभा आयोजना गरिएको छ, जहाँ शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

    राप्रपाले फागुन ८ गते महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा गर्ने तालिका तय गरेको छ । त्यसैगरी फागुन ९ गते बारा र पर्साका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिनेछ । फागुन १० गते रौतहट र सर्लाही तथा ११ गते धनुषा र महोत्तरीमा पनि पार्टीका चुनावी सभाहरू सञ्चालन हुने जनाइएको छ ।

    निर्वाचनका लागि प्रचारप्रसार अवधि फागुन ४ गतेबाट सुरु भइसकेको छ । दल तथा उम्मेदवारहरूले फागुन १८ गतेसम्म प्रचार गर्न पाउनेछन् । त्यसपछि मौन अवधि लागू हुनेछ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ भने ११० जना समानुपातिक प्रणालीबाट चयन गरिन्छन् । प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र उम्मेदवारसहित ३ हजार ४०६ जना प्रतिस्पर्धामा छन् । समानुपातिकतर्फ ६३ दलका ३ हजार १३५ उम्मेदवारको नामावली दर्ता भएको छ ।

    राप्रपाले समानुपातिकतर्फ ११० जनाकै नाम निर्वाचन आयोगमा बुझाएको छ भने प्रत्यक्षतर्फ १६५ मध्ये १६३ सिटमा उम्मेदवारी दिएको जनाएको छ । प्रत्यक्ष प्रणालीमा बढी सदर मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन् भने समानुपातिक प्रणालीमा दलले पाएको मतको अनुपातमा सांसद चयन गरिन्छन् ।