काठमाडौं, फागुन ७ - नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममार्फत कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन्।
सभापति थापाले भ्रष्टाचारका विषयमा कुनै प्रकारको नाता–सम्बन्ध वा पदको हैसियत नहेर्ने स्पष्ट पारे। “भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि, चाहे ऊ पार्टीको शीर्ष नेता किन नहोस्, उसलाई सार्वजनिक पदमा बस्ने अधिकार हुँदैन,” उनले भने।
उनका अनुसार २०४७ सालयता सत्तामा रहेका जुनसुकै दलका नेता वा पदाधिकारीमाथि पनि निष्पक्ष छानबिन गरिनेछ। सुशासन स्थापना गर्न कडा कदम चालिने उनको दाबी थियो।
थापाले अबको शासन प्रणाली कार्यालयमुखी नभई नागरिकमुखी हुनुपर्नेमा जोड दिए। नागरिकले तोकिएको समयभित्रै सेवा पाउनुपर्ने उल्लेख गर्दै उनले सेवा ढिलाइ भए क्षतिपूर्तिको व्यवस्था गरिने योजना सार्वजनिक गरे। “एक दिनमा हुने काम एकै दिनमा र एक घण्टामा हुने सेवा एकै घण्टामा उपलब्ध हुनुपर्छ,” उनले भने।
उनले सार्वजनिक सेवालाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउँदै सातै दिन, चौबीसै घण्टा उपलब्ध गराउने लक्ष्य रहेको बताए। आवश्यक कानुनी संशोधन, भौतिक पूर्वाधारको विकास र डिजिटल प्रणालीमार्फत घरमै सेवा पुर्याउने अवधारणा अघि सारिएको उनले जानकारी दिए।
कांग्रेसले सुशासन, पारदर्शिता र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहलाई आगामी कार्यकालको मुख्य प्राथमिकताका रूपमा अघि सारेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस