१० फागुन २०८२ आईतबार | 22 Feb 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एमालेको चुनावी घोषणापत्र सार्वजनिक, अर्थतन्त्र १०० खर्ब पुर्‍याउने लक्ष्य



  • अञ्जना ढकाल
  • ३ दिन अघि
  • पाठक संख्या ७०
  • काठमाडौँ, फागुन ७ - नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित सार्वजनिक दस्तावेजमा आर्थिक विस्तारदेखि सामाजिक सुरक्षासम्मका विभिन्न महत्वाकांक्षी कार्यक्रमहरू समेटिएका छन्।

    पार्टी अध्यक्ष केपी शर्मा ओली ले बिहीबार घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार १०० खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य प्रस्तुत गरे। उत्पादन, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक रूपान्तरण गर्ने दाबी पार्टीको छ।

    घोषणापत्रमा युवालाई आकर्षित गर्ने कार्यक्रमसमेत उल्लेख छन्। युवाहरूलाई मासिक १० जीबी निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने, स्टार्टअप व्यवसायका लागि १० हजार अमेरिकी डलरसम्मको विशेष कार्ड सुविधा दिने तथा विद्यार्थीलाई २० लाख रुपैयाँसम्म निर्व्याजी शैक्षिक ऋण उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।

    सामाजिक सुरक्षातर्फ सुत्केरी महिलालाई दिइने पोषण भत्ता २० हजार रुपैयाँ पुर्‍याउने र विपन्न वर्गका नागरिकको २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने योजना अघि सारिएको छ।

    पूर्वाधार विकासअन्तर्गत रेल तथा मेट्रो सेवा सञ्चालन गर्ने, डिजिटल प्रविधिमा आधारित सुशासन प्रणाली लागू गर्ने र सेवा प्रवाहलाई छिटो, पारदर्शी तथा प्रभावकारी बनाउने उल्लेख गरिएको छ।

    राजनीतिक स्थायित्व र विकासका कार्यक्रम कार्यान्वयनका लागि बहुमत आवश्यक रहेको भन्दै एमालेले मतदातासँग स्पष्ट जनादेशको अपिल गरेको छ।