काठमाडौं, फागुन १० - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको माग गर्दै आइतबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गरिएको छ।
राजावादी समूहहरूले माइतीघर मण्डलामा भेला भएर सरकारसँग प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका हुन्। सहभागीहरूले प्रसाईंको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
प्रसाईंलाई फागुन ४ गते भक्तपुरस्थित निजी निवासबाट पक्राउ गरिएको थियो। सोही घटनाको विरोधमा आयोजित र्यालीमा सहभागीहरूले ‘हिन्दुराज्य पुनर्स्थापना गरौं’ भन्ने मूल नारासहित गणतन्त्रविरुद्धका नारा पनि लगाएका थिए।
माइतीघर मण्डलाबाट सुरु भएको र्याली भद्रकालीमा पुगेर समापन गरिएको आयोजकले जनाएका छन्। प्रहरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै र्याली स्थल आसपास सुरक्षा व्यवस्था कडा पारेको थियो।
प्रतिक्रिया दिनुहोस