१२ फागुन २०८२ मंगलबार | 24 Feb 2026 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोर्चुगलमा नक्कली छाप–हस्ताक्षर काण्ड : हजारौँ नेपाली कानुनी जोखिममा



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५३
  • पोर्चुगल, फागुन १० - पोर्चुगलमा अस्थायी आवास अनुमति (टीआरसी) का लागि पेश गरिएका प्रहरी चारित्रिक प्रमाणपत्रमा नक्कली छाप र हस्ताक्षर प्रयोग भएको खुलासा भएपछि दुई हजारभन्दा बढी नेपाली कानुनी संकटमा परेका छन् । लिस्वनस्थित नेपाली राजदूतावासमा पीडितहरू दैनिक उजुरी दिन पुगेका छन् ।

    उजुरीकर्ताहरूका अनुसार नेपाल प्रहरीले जारी गरेको रिपोर्ट सक्कली भए पनि त्यसमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप तथा हस्ताक्षर प्रयोग गरिएको छ । धेरैले प्रमाणीकरणका लागि सहयोग गर्ने व्यक्तिको नामसमेत किटान गर्दै उजुरी दिएका छन् ।

    पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले लिखित तथा इमेलमार्फत ठूलो संख्यामा उजुरी आएको जानकारी दिएका छन् । राजदूतावासले हाल पीडितहरूको विवरण संकलन गरी स्थानीय सरकारी निकायलाई रिपोर्ट सक्कली रहेको तर प्रमाणीकरणमा किर्ते भएको औपचारिक जानकारी गराएको छ ।

    पोर्चुगलको आप्रवासन निकाय ‘एआईएमए’ले कागजात जाँचका क्रममा नक्कली प्रमाणीकरण फेला पारेपछि सम्बन्धित नेपालीलाई देश छाड्न चेतावनी दिएको छ । केहीलाई सरकारी कागजपत्र किर्ते अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको सूचना समेत पठाइएको पीडितहरूको भनाइ छ ।

    दूतावास स्थापना हुनुअघि कागजात प्रमाणीकरणका लागि फ्रान्स वा भारत जानुपर्ने अवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले दलालीमार्फत नक्कली छाप–हस्ताक्षर प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनामा संलग्न दुई नेपाली यसअघि नै पक्राउ परिसकेका छन् ।

    यसैबीच, लिस्वनमा आयोजित अन्तरक्रियामा पीडितहरूले एनआरएन र अन्य संघसंस्थाले चासो नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनीहरूले आफूहरू संगठित ठगीको शिकार भएको दाबी गर्दै नेपाल सरकार र दूतावाससँग सहजीकरणको माग गरेका छन् ।

    परराष्ट्र सचिव अमृतबहादुर राईले घटनालाई गम्भीर रूपमा लिँदै सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । राजदूतावासलाई शीघ्र प्रतिवेदन तयार गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनसमेत उनले आग्रह गरेका छन् ।