१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मध्यपूर्व तनावका कारण खाडी जाने श्रमिकको श्रम स्वीकृति रोकियो



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, फागुन १७ - मध्यपूर्व क्षेत्रमा बढ्दो तनावलाई ध्यानमा राख्दै सरकारले खाडी मुलुकतर्फ वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार पछिल्लो अवस्थाले जोखिम बढेकाले नयाँ श्रम स्वीकृति दिन रोक लगाइएको हो। यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति जारी गर्दै आएको थियो।

    आइतबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मध्यपूर्वको पछिल्लो अवस्थाबारे जानकारी दिँदै त्यहाँ रहेका नेपालीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारिएको छ। मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार हाल विभिन्न मध्यपूर्वी देशमा करिब १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेका छन्।

    मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले यसअघि नै ट्राभल एड्भाइजरी जारी गरिएको र सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत नागरिकलाई सतर्क रहन अनुरोध गरिएको बताए। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा आधिकारिक सूचनामात्र अनुसरण गर्न आग्रह गरिएको छ। दूतावास र नियोग प्रमुखहरूसँग निरन्तर समन्वयका लागि विशेष संयन्त्र सक्रिय बनाइएको मन्त्रालयले जनाएको छ।

    पत्रकार सम्मेलनमा सहसचिव कृष्णप्रसाद ढकालले सम्भावित आपतकालीन अवस्थाका लागि उद्धार योजना तयारी अवस्थामा राखिएको जानकारी दिए। उनले सामाजिक सञ्जालमा फैलिने अप्रमाणित र भ्रामक सूचनामा नअल्झिन तथा मन्त्रालय र दूतावासबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरे।

    सरकारले अत्यावश्यक अवस्था बाहेक हालका लागि ती देशहरूको भ्रमण नगर्नसमेत नेपाली नागरिकलाई अनुरोध गरेको छ।