पोखरा, फागुन २१ - प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर मतदान सम्पन्न भएको छ। अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ भने अब मतपेटिका संकलनपछि तोकिएका केन्द्रहरूमा मतगणना सुरु गरिनेछ।
यसैबीच म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुन भने मतदान गर्नबाट वञ्चित भएका छन्। एक महिनासम्म म्याग्दीका मतदातासँग मत माग्दै चुनावी अभियानमा सक्रिय रहेका उनले भने आफैंले मत हाल्न पाएनन्।
पुनका अनुसार उनको मतदाता नामावली चितवनमा रहेको कारण म्याग्दीबाट मतदान गर्न सम्भव भएन। ‘मेरो नागरिकता चितवनको राप्ती नगरपालिकाबाट बनेको हो, त्यसैले मतदाता नामावली पनि त्यहीँबाट बनेको रहेछ,’ उनले बताए। म्याग्दीमा बसाइँसराइ नगरेकाले त्यहाँबाट मतदान गर्न नपाएको उनको भनाइ छ।
समानुपातिकतर्फ भने म्याग्दीबाटै मत हाल्न पाइन्छ भन्ने जानकारी पाएपछि आफू ढुक्क भएको उनले बताए। तर मतदान गर्ने तयारी गर्दै गर्दा समानुपातिक मत पनि सम्बन्धित मतदान केन्द्रमै दिनुपर्ने रहेछ भन्ने थाहा भएको उनले सुनाए।
ठट्यौली शैलीमा उनले भने, ‘अब त हेलिकप्टर चढेर जान पनि सकिएन, गाडीमा गएर फर्किन पनि समय भएन।’ मतदान गर्न नपाएकोमा आफूलाई अलिक खल्लो लागेको उनले प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया दिनुहोस