काठमाडौं, चैत ९ - रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्यमा ओमप्रकाश अर्यालको नियुक्ति प्रक्रिया तत्कालका लागि रोकेका छन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपतिसमक्ष पुगे पनि विभिन्न संवैधानिक र राजनीतिक कारणले निर्णय अघि नबढाइएको हो।
राष्ट्रपति कार्यालयका अनुसार, हाल अर्याल गृहमन्त्रीको जिम्मेवारीमा रहेका कारण उनलाई ‘लाभको पद’मा रहेको व्यक्तिका रूपमा व्याख्या गरिएको छ। संविधानअनुसार संघीय संसद सदस्य हुनका लागि यस्तो पदमा नरहेको हुनुपर्ने व्यवस्था छ, जसलाई निर्णय रोक्नुको प्रमुख आधार मानिएको छ।
त्यसैगरी, हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा राष्ट्रपतिले हतार नगरी नयाँ सरकारको धारणा कुर्ने नीति लिएका छन्। केही दिनमै नयाँ प्रधानमन्त्री चयन हुने तयारी भइरहेकाले नयाँ सरकारबाटै सिफारिस आउन सक्ने सम्भावनालाई ध्यान दिइएको बताइएको छ।
अर्कोतर्फ, अर्यालको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ। उक्त मुद्दामा निर्णय नआएसम्म नियुक्ति प्रक्रिया अगाडि बढाउनु उपयुक्त नहुने ठहर राष्ट्रपतिले गरेका हुन्।
यसअघि पनि यस्तै अवस्थामा निर्वाचनपछि बन्ने नयाँ सरकारलाई प्राथमिकता दिँदै सिफारिस रोकिएका उदाहरण रहेका छन्। अब नयाँ सरकार गठन भएपछि मात्रै राष्ट्रिय सभाको रिक्त पदमा नियुक्ति सम्बन्धी निर्णय हुने राष्ट्रपति कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस