१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता, चुनाव चैत २२ गते हुने



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १४१
  • काठमाडौं, चैत २० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। संघीय संसद सचिवालयले तोकेको समयअनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता भएको हो।

    अर्यालको उम्मेदवारीमा रास्वपा सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने प्रस्तावक रहेका छन् भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल समर्थक रहेका छन्।

    सभामुख पदको निर्वाचन चैत २२ गते बस्ने प्रतिनिधि सभा बैठकबाट हुने कार्यतालिका छ। उक्त दिन प्रस्तावक र समर्थकले सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि छलफल गरी निर्णयार्थ पेश गरिनेछ।

    यसअघि बिहीबार बसेको रास्वपाको बैठकले अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकोले पार्टी दुई तिहाइ बहुमत नजिक पुगेको छ। यस आधारमा अर्याल सभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।

    हाल सभामुखको पद रिक्त रहेकाले प्रतिनिधि सभाको बैठक ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सञ्चालन गर्दै आएका छन्।