नागढुङ्गा, चैत २९ - काठमाडौं–धादिङ जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। देशकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा यसले यातायात क्षेत्रमा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
२०७६ कात्तिकमा शिलान्यास गरिएको यो आयोजना सुरुवातमा २२ अर्ब रुपैयाँ लागतमा बनाउने लक्ष्य थियो। तर भूगर्भीय समस्या र डिजाइन परिवर्तनका कारण लागत बढेर २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
जापान सरकारको सहुलियत ऋणमा निर्माण भएको यो परियोजना निर्धारित समयमै सम्पन्न हुन नसके पनि २०८२ सालमा निर्माण सकिएको छ। हाल धादिङतर्फ पहिरो नियन्त्रण र टोल गेट निर्माणको काम भइरहेको छ।
सुरुङमार्ग सञ्चालनको जिम्मा युक्सिन–एआरटी ज्वाइन्ट भेन्चरलाई पाँच वर्षका लागि दिइएको छ। सरकारसँग करिब एक अर्ब १० करोड रुपैयाँभन्दा बढीमा सम्झौता भएको छ।
सरकारले सुरुङमार्ग प्रयोगका लागि शुल्क पनि निर्धारण गरेको छ। हलुका सवारीका लागि ६५ रुपैयाँ, बस तथा ट्रकका लागि २६० रुपैयाँ र भारी सवारीका लागि ६०० रुपैयाँसम्म शुल्क तोकिएको छ।
प्रतिक्रिया दिनुहोस