काठमाडौं, वैशाख २ - पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । चिकित्सकहरूका अनुसार उनलाई आज साँझसम्म आईसीयूबाट वार्डमा सार्ने तयारी भइरहेको छ।
गत सोमबार पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा ल्योप्रोस्कोपी विधिबाट सफलतापूर्वक निकालिएको थियो । त्यसयता उनी आईसीयूमा उपचाररत रहेका छन्।
उपचारमा संलग्न चिकित्सकले अहिले ओलीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जानकारी दिएका छन् । उनी अझै केही दिन चिकित्सकीय निगरानीमा बस्नुपर्ने जनाइएको छ।
चिकित्सकहरूका अनुसार उनलाई पूर्ण रूपमा निको हुन अझै तीनदेखि चार दिन अस्पतालमै राखिनेछ । त्यसपछि मात्रै डिस्चार्ज गर्ने तयारी छ।
यसअघि जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओलीलाई अदालतको आदेशअनुसार शर्तसहित रिहा गरिएको थियो । शल्यक्रियाको आवश्यकताका कारण उनी अस्पतालमै बसिरहेका छन्।
ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेपछि अदालतले अनुसन्धान निश्चित समयभित्र टुंग्याउन निर्देशन दिएको थियो । सोही आदेशअनुसार उनी पत्नीको जिम्मामा छाडिएका हुन्।
प्रतिक्रिया दिनुहोस