काठमाडौं, वैशाख २ - नेपाली कांग्रेसले समानान्तर गतिविधिमा संलग्न भएको आरोपमा निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण माग्ने तयारी गरेको छ ।
पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरी कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयलाई लिएर कांग्रेसले खड्कासँग जवाफ माग्न लागेको हो ।
केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले यस विषयमा औपचारिक निर्णय गर्ने तयारी रहेको एक शीर्ष नेताले जानकारी दिएका छन् ।
खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसलगत्तै पार्टीले अनुशासन समितिको बैठक बोलाएको थियो ।
यसअघि १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको नाममा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो । त्यस्तै, खड्काले १४ चैतमा पनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति विरोध जनाउँदै विज्ञप्ति निकालेका थिए ।
त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिकै हैसियतमा १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिनसम्म छलफलसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस