काठमाडौं, चैत २९ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट समूहले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न औपचारिक माग गरेको छ। आइतबार कान्तिपथमा बसेको महामन्त्री धवलशमशेर राणा पक्षधरको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले पार्टीलाई नयाँ ढंगले अघि बढाउन निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, केन्द्रीय महाधिवेशनको मिति एक साताभित्र सार्वजनिक गर्न नेतृत्वलाई दबाब दिइएको छ।
असन्तुष्ट पक्षले पार्टीको चार वर्षे कार्यकाल सकिएको उल्लेख गर्दै हालको नेतृत्व अतिरिक्त अवधिमा रहेको जनाएको छ। उनीहरूले ताजा जनादेशका लागि शीघ्र महाधिवेशन गर्नु नै एकमात्र विकल्प भएको बताएका छन्।
निर्वाचन परिणामको समीक्षा नगरेको भन्दै नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरिएको छ। बैठकमा सहभागीहरूले चुनावअघि गरिएको आश्वासन विपरीत पार्टीले निराशाजनक नतिजा भोग्नुपरेको र त्यसको जिम्मेवारी नेतृत्वले नलिएको आरोप लगाए।
त्यस्तै, उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयप्रति पनि असन्तुष्टि जनाइएको छ। सो विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय लिइएको भन्दै विधि, पद्धति र अनुशासन उल्लंघन भएको निष्कर्ष असन्तुष्ट पक्षले निकालेको छ।
प्रतिक्रिया दिनुहोस