काठमाडौं, वैशाख ३ - पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले बढ्दो महँगी, कालाबजारी तथा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त कर खारेज गरी मूल्य समायोजन गर्नुपर्ने आवाज उठाएका छन् ।
विरोध कार्यक्रममा सहभागीहरूले ‘मूल्यवृद्धि नियन्त्रण गर’, ‘बाँच्न दे सरकार’, ‘जनतालाई छैन खाने नुन’ जस्ता नारासहितका प्लेकार्ड र ब्यानर बोकेका थिए । साथै, ‘युद्धको मार–करको भार’ भन्दै जनतामाथि परेको आर्थिक दबाबप्रति असन्तुष्टि जनाएका थिए ।
प्रदर्शनलाई प्रतीकात्मक बनाउन सहभागीहरूले भान्सामा प्रयोग हुने कराइ, डाडु लगायतका सामग्री पनि बोकेका थिए । यसले दैनिक उपभोग्य वस्तुको अभाव र महँगीको असर जनजीवनमा परेको सन्देश दिन खोजिएको उनीहरूको भनाइ छ ।
विद्यार्थी संगठनहरूले सरकारलाई मूल्यवृद्धि नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस