काठमाडौं, वैशाख ४ - गृहमन्त्री सुधन गुरुङले कानुन उल्लंघन गर्ने जो–कोहीलाई पनि नछाड्ने स्पष्ट पारेका छन् । आफ्नै बाबु भए पनि गल्ती गरे कारबाहीबाट उम्कन नदिने उनको भनाइ छ ।
बिहीबार साँझ सुरक्षा मामिलामा कलम चलाउने पत्रकारहरूसँगको भेटमा उनले कसैको अनुहार नहेरी कानुनी दायरामा ल्याउने काम भइरहेको बताएका हुन् । ‘मेरो आफ्नै बाबुले गल्ती गरे पनि म छाड्दिनँ,’ उनले दृढ रूपमा भने ।
गृहमन्त्री गुरुङले विशेष गरी उच्च पदस्थ व्यक्तिहरूको मामिलामा अदालतले सहज रूपमा छाड्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणमा लिन आफू र सुरक्षा निकायका प्रमुखहरूले रातभर खटिए पनि अदालतबाट रिहा भएकोमा दुःख व्यक्त गरे ।
‘हामीले निकै मेहनत गरेर समात्यौं, तर अदालतले छाडिदिँदा हाम्रो प्रयास खेर गएको जस्तो लाग्यो,’ उनले भने । यसले गर्दा कानुनी प्रक्रियामा थप अध्ययन आवश्यक भएको महसुस गरेको पनि उनले बताए ।
आफू अहिले कानूनको गहिरो अध्ययनमा लागेको उल्लेख गर्दै उनले भविष्यमा पक्राउ गर्दा अदालतले छाड्न नसक्ने आधार तयार पार्ने तयारी भइरहेको जानकारी दिए । यस कारणले केही समय यस्ता कारबाही सुस्त देखिए पनि प्रक्रिया अझ सुदृढ बनाइँदै गएको उनको भनाइ छ ।
गुरुङले अन्त्यमा स्पष्ट पारे, ‘गल्ती गर्नेलाई कारबाही गर्ने काम कुनै पनि हालतमा रोकिने छैन, चाहे त्यो सामान्य व्यक्ति होस् वा भीआईपी नै किन नहोस् ।’
प्रतिक्रिया दिनुहोस