काठमाडौं, वैशाख ४ - सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा वारेसमार्फत तारिख लिन पाउने अनुमति दिएको छ।
न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई व्यक्तिगत रूपमा उपस्थित नभई वारेसमार्फत मुद्दाको प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था गरेको हो।
यस निर्णयसँगै अब तारिखका दिन प्रधानमन्त्री शाहको सट्टा उनका वारेस उपस्थित भएर अदालतमा तारिख बुझ्न सक्नेछन्। यसअघि भने यस्तो सुविधा उपलब्ध थिएन।
शाहविरुद्धको अवहेलना मुद्दा करिब तीन वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। उक्त मुद्दा सामाजिक सञ्जालमा गरिएको टिप्पणीसँग सम्बन्धित रहेको छ।
उच्च अदालत पाटनले हिन्दी चलचित्र प्रदर्शन नरोक्न अन्तरिम आदेश दिएको सन्दर्भमा तत्कालीन मेयर रहेका शाहले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएपछि अधिवक्ता वर्षा झाले अवहेलनाको निवेदन दर्ता गराएकी थिइन्।
प्रतिक्रिया दिनुहोस