काठमाडौं, वैशाख १५ - सरकारले सहकारी तथा संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशहरू जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार सिफारिस भएका अध्यादेशहरू अहिले अध्ययनको प्रक्रियामा रहेका छन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भई आएको पुष्टि गर्दै ती विषयमा अध्ययन भइरहेको जानकारी दिएका छन्। सिफारिस गरिएको अध्यादेशहरू सोही दिन शीतलनिवासमा बुझाइएको बताइएको छ।
यसअघि सरकारले वैशाख ८ गते संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो र सोही आधारमा वैशाख १७ गतेका लागि अधिवेशन बोलाइएको थियो। तर पछि वैशाख १० गते सरकारले पुनः अधिवेशन स्थगन गर्न सिफारिस गरेपछि अधिवेशन रोकिएको थियो।
अधिवेशन आह्वान गरेर स्थगित गरिएको अवस्थामा संवैधानिक परिषद्मार्फत नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारले अध्यादेशको बाटो रोजेको देखिन्छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश र विपक्षी दलका नेता गरी ६ सदस्य रहने व्यवस्था छ।
यसैबीच, नेपाली कांग्रेसले प्रतिनिधिसभामा दलको नेताका रूपमा भीष्मराज आङ्देम्बेलाई चयन गरेसँगै संवैधानिक परिषद् पूर्ण भएको छ।
प्रतिक्रिया दिनुहोस