काठमाडौं, वैशाख १५ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयभित्र इन्धन दुरुपयोग भएको आशंकापछि मन्त्री निशा मेहताले छानबिन गर्न निर्देशन दिनुभएको छ। जलेर पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको नाममा समेत इन्धन लिने गरिएको विषय बाहिरिएपछि उहाँले कडा कदम चाल्नुभएको हो।
‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त भएका गाडीको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिँदै आएको जानकारी प्राप्त भएपछि मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको मन्त्रालय स्रोतले जनाएको छ।
उक्त आन्दोलनका बेला स्वास्थ्य मन्त्रालयका १८ वटा तथा मातहतका निकायका थप ६ वटा गरी कुल २४ सवारी साधन जलेका थिए। तीमध्ये अधिकांश गाडी पूर्ण रूपमा क्षति भई सञ्चालनयोग्य नरहेको अवस्थामा छन्।
यस्तै अवस्थाका गाडीको नाम प्रयोग गरी इन्धन लिने कार्य अनियमितता भएको ठहर भएपछि मन्त्री मेहताले यसमा संलग्न जो–कोहीमाथि कडा कारबाही गर्न समेत निर्देशन दिनुभएको छ।
मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको र दोषी प्रमाणित हुने व्यक्तिलाई कानुनी दायरामा ल्याइने जनाएको छ।
प्रतिक्रिया दिनुहोस