काठमाडौं, वैशाख १८ - काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने क्रममा बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा भत्काएको छ। बुद्ध जयन्तीको दिन शुक्रबार बिहान डोजर प्रयोग गरेर गुम्बा हटाइएको हो।
२०७८ साल कात्तिक १३ गते दर्ता भएको उक्त गुम्बा वैशाख शुक्ल पूर्णिमाकै दिन भत्काइएको हो। महानगरपालिकाले सार्वजनिक जग्गा फिर्ता गर्ने अभियान अन्तर्गत गुम्बा हटाएको जनाएको छ।
गुम्बामा डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्रीहरू सुरक्षित रूपमा बाहिर सारिएको थियो। त्यसपछि मात्र संरचना भत्काइएको जनाइएको छ।
यसैक्रममा बल्खु, टेकु नजिकको वंशीघाट तथा बालाजु क्षेत्रमा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहराहरू हटाउने काम जारी रहेको छ।
बालाजुस्थित ओग्यन जम्लिङ क्षेत्रमा रहेको अर्को गुम्बामा पनि डोजर चलाउने तयारी भएपछि बौद्ध धर्मावलम्बीहरूले आपत्ति जनाएका छन्।
प्रतिक्रिया दिनुहोस