३ असार २०८३ बुधबार | 17 Jun 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बिजुलीका पोल नसारिँदा आक्रोशित बने मन्त्री लम्साल, काम नगरे खुट्टा भाँचिदिनू भन्दै दिए चेतावनी



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ५४
  • काठमाडौं, असार १ - पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडक विस्तार आयोजनामा ढिलाइ भएको विषयलाई लिएर ठेकेदारप्रति दिएको अभिव्यक्ति विवादमा परेको छ।

    नागढुंगा–मुग्लिन सडकखण्डको प्रगति अनुगमनका क्रममा उनले बिजुलीका पोल स्थानान्तरणको जिम्मा लिएको ठेकेदारलाई लक्षित गर्दै कडा टिप्पणी गरेका हुन्।

    आइतबार नौबिसे–मलेखु सडकखण्ड निरीक्षणका क्रममा मन्त्री लम्सालले सम्बन्धित ठेकेदारलाई तत्काल उपस्थित गराउन निर्देशन दिँदै काममा लापरवाही दोहोरिए ‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा सुरु भएको छ।

    अनुगमनका क्रममा आयोजना पक्ष र निर्माण कम्पनीका प्रतिनिधिहरूले बिजुलीका पोल नसारिँदा सडक विस्तारको काम प्रभावित भएको जानकारी मन्त्रीलाई गराएका थिए। त्यसपछि उनले आक्रोशित हुँदै ठेकेदारप्रति कडा प्रतिक्रिया व्यक्त गरेको बताइएको छ।

    नेपाल विद्युत् प्राधिकरणले नौबिसे–मलेखु सडकखण्डमा रहेका बिजुलीका पोल स्थानान्तरण गर्ने जिम्मेवारी सोहन कन्स्ट्रक्सनलाई दिएको छ। आयोजनाका अनुसार आदमघाटदेखि मलेखुसम्म करिब ७४ वटा पोल अझै पूर्ण रूपमा स्थानान्तरण भइसकेका छैनन्। कतिपय स्थानमा नयाँ पोल जडान गरिए पनि पुराना पोलमा विद्युत् लाइन यथावत रहेकाले निर्माण कार्यमा अवरोध भइरहेको छ।

    आयोजनाका कर्मचारीहरूका अनुसार पोल नसारिँदा निर्माण कार्य ढिलो हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ। यही अवस्थाले मन्त्री लम्साललाई असन्तुष्ट बनाएको हुनसक्ने उनीहरूको भनाइ छ।

    नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत बिजुलीका संरचना व्यवस्थापनका लागि १२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ। पूर्वी खण्डका लागि मात्रै ६ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएको छ, जसमध्ये अधिकांश रकम नेपाल विद्युत् प्राधिकरणलाई भुक्तानी भइसकेको आयोजनाले जनाएको छ।

    अनुगमनपछि मन्त्री लम्सालले पोल स्थानान्तरणको काम यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्नुपरेको बताएका थिए।

    उता, मन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले काममा ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरेको भन्दै समर्थन गरेका छन् भने धेरैले मन्त्रीको भाषा र शैलीलाई गैरजिम्मेवार तथा अराजक भएको टिप्पणी गरेका छन्।