१८ बैशाख २०८३ शुक्रबार | 01 May 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रोल्पा जिप दुर्घटना : एकै परिवारका ७ सहित २० जनाको मृत्यु



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या २९
  • रोल्पा, वैशाख १८ - रोल्पाको थवाङ गाउँपालिका–१ जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा २० जनाको ज्यान गएको छ। मृतकमध्ये ७ जना एउटै परिवारका सदस्य रहेको खुलेको छ।

    रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका दुई दाजुभाइका ७ जनाले घटनास्थलमै ज्यान गुमाएको वडाध्यक्ष बिरेन्द्र बस्नेतले जानकारी दिएका छन्। उनका अनुसार दाजुको परिवारका ४ जना र भाइको परिवारका ३ जना दुर्घटनामा परेका हुन्।

    दुर्घटनामा ज्यान गुमाउनेमध्ये ९ जना सिस्ने–५ टाकुराका, एक जना भूमे गाउँपालिका–५ का तथा अन्य दाङका रहेका बताइएको छ। मृतकहरूको पहिचान गर्ने काम जारी रहेको छ।

    बिहीबार दिउँसो रुकुम पूर्वबाट थवाङतर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल खस्दा दुर्घटना भएको हो। पानी परेका कारण र रात परिसकेपछि उद्धार कार्य रोकिएको थियो।

    शुक्रबार बिहान सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य पुनः सुरु गरी शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ। दुर्घटनामा १२ महिला, ४ पुरुष र ४ बालकले ज्यान गुमाएका छन्।

    घटनामा घाइते भएका ३२ वर्षीय समिर कामीलाई उपचारका लागि अस्पताल लगिएको छ।