२० बैशाख २०८३ आईतबार | 03 May 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ऐलानी जग्गा प्रकरण : रास्वपा सांसदमाथि प्रश्न, सचिवालयको प्रतिवाद



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ५१
  • धनगढी, वैशाख २० - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य केपी खनालको घर ऐलानी जग्गामा रहेको विषय सार्वजनिक भएपछि यसले राजनीतिक बहस निम्त्याएको छ । कैलाली–२ बाट निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै निर्माणाधीन घरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठ्न थालेका छन् ।

    देशभर सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचना हटाउने अभियान जारी रहँदा खनालको घर पनि सोही प्रकृतिको भएको भन्दै भत्काउनुपर्ने माग उठेको हो । सरकार विभिन्न स्थानमा डोजर प्रयोग गरेर अतिक्रमित संरचना हटाइरहेको सन्दर्भमा यो विषय झनै चासोको केन्द्रमा परेको छ ।

    यसैबीच, खनालको सचिवालयले भने यस विषयलाई राजनीतिक पूर्वाग्रहसँग जोड्दै अस्वीकार गरेको छ । सचिवालयका सदस्य हर्क पुनका अनुसार सामाजिक सञ्जालमार्फत खनालको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ । उनले देशभर सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेकाले यस्तो माग आउनु स्वाभाविक भए पनि नियत भने सही नभएको दाबी गरे ।

    पुनले खनालका अभिभावकले भारतमा श्रम गरेर उक्त घर निर्माण गरेको उल्लेख गर्दै माननीयको व्यक्तिगत बसोबासमाथि प्रश्न उठाउनु उपयुक्त नहुने बताए । उनका अनुसार यो विषयलाई अनावश्यक रूपमा राजनीतिक रंग दिन खोजिएको छ ।

    यद्यपि, खनालको परिवार बसोबास गरिरहेको घर ऐलानी जग्गामै रहेको तथ्य भने स्वीकार गरिएको छ । भुइँतलासहित तीन तले घर निर्माणकै चरणमा रहेको जनाइएको छ ।

    लम्कीचुहा क्षेत्रमा धेरै नागरिक ऐलानी जग्गामै बस्दै आएको उल्लेख गर्दै पुनले खनालको परिवारले पनि लालपूर्जा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको बताए । उनका अनुसार भूमि आयोगमार्फत नाम दर्ता गर्ने प्रक्रिया पूरा भए पनि लालपूर्जा भने हालसम्म प्राप्त भएको छैन ।