काठमाडौं, असार २ - सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एक भिडियोबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेकी छन्। भिडियो सार्वजनिक भएपछि विभिन्न टिप्पणी र आलोचना बढेपछि उनले उक्त दृश्य आफ्नो सार्वजनिक जीवनभन्दा अघिको निजी समयसँग सम्बन्धित रहेको स्पष्ट पारेकी हुन्।
मंगलबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भट्टराई कारको झ्यालबाट बाहिर निस्किएर रमाइरहेको अवस्थामा देखिएकी थिइन्। यस विषयमा प्रतिक्रिया दिँदै उनले भिडियो हालको नभई धेरै वर्षअघि व्यक्तिगत यात्राका क्रममा खिचिएको बताइन्।
उनका अनुसार उक्त घटना कुनै सरकारी कार्यक्रम, सार्वजनिक जिम्मेवारी वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन। उनले यसलाई आफ्नो निजी जीवनको सामान्य क्षणका रूपमा लिन आग्रह गरेकी छन्।
सार्वजनिक पदमा रहेका व्यक्तिहरूप्रति नागरिकको चासो स्वाभाविक भए पनि निजी जीवनका सामान्य गतिविधिलाई अनावश्यक रूपमा राजनीतिक वा प्रशासनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित नहुने उनको भनाइ छ। उनले आफू सार्वजनिक प्रतिनिधि भए पनि व्यक्तिगत स्वतन्त्रता र निजी जीवनको अधिकार सबै नागरिकसरह रहने उल्लेख गरिन्।
भट्टराईले जीवनको कुनै चरणमा उत्साह, उमेर वा परिस्थितिका कारण मानिसबाट यस्ता व्यवहार हुन सक्ने बताउँदै भिडियोमा देखिएको गतिविधि सडक सुरक्षा र ट्राफिक नियमको दृष्टिले उपयुक्त नहुन सक्ने स्वीकार गरेकी छन्।
सडक सुरक्षाको महत्वलाई जोड दिँदै उनले ट्राफिक नियमको पालना सबै नागरिकको साझा दायित्व भएको उल्लेख गरिन्। साथै विगतका अनुभवबाट पाठ सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सुरक्षित र जिम्मेवार यात्रा गर्न आग्रह गरेकी छन्।
उनले यस घटनालाई विवादको विषयभन्दा पनि सडक सुरक्षा सम्बन्धी जनचेतना बढाउने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस