गोरखा, वैशाख २५ - गोरखाका दुई सडक आयोजनाको निर्माण कार्य लामो समयदेखि अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय गोरखाले सम्बन्धित निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम दिएको छ । कार्यालयले काममा प्रगति नभए ठेक्का सम्झौता तोड्ने चेतावनी दिएको हो ।
कार्यालयका अनुसार पटक–पटक म्याद थप, मौखिक तथा लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढेपछि निर्माण व्यवसायीलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ ।
नरेश्वर–पाणिनी चौतारा–निबेल–ताकुकोट सडक स्तरोन्नतिको ठेक्का एम/एस अमर/ज्ञानेश जेभीले आर्थिक वर्ष २०७७/७८ मा पाएको थियो । तर, लामो समय बित्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन ।
यस्तै, माछाखोला–लाप्सिबोट–यामगाउँ–गुम्दा सडक निर्माणको जिम्मा अमर पिआर नाना जेभीले आर्थिक वर्ष २०७६/७७ मा लिएको भए पनि काम अधुरै रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले सात दिनभित्र संशोधित कार्यतालिका र काम सम्पन्न गर्ने प्रतिबद्धता पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र काम सुरु नभए सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोड्ने, धरौटी जफत गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस