७ असार २०८३ आईतबार | 21 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा महाधिवेशनमा रोचक व्यवस्था : चुनाव हारेकाले पनि केन्द्रीय समितिमा स्थान पाउन सक्ने



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २०
  • चितवन, असार ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व तथा केन्द्रीय समिति चयन गर्नेछ।

    महाधिवेशनसँगै केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। आकांक्षीहरूको संख्या अपेक्षाभन्दा बढी भएपछि केन्द्रीय सदस्यहरूको चयन निर्वाचन प्रक्रियामार्फत हुने निश्चित भएको हो।

    संशोधित विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। त्यसमध्ये ९९ जना प्रतिनिधिहरूबाट प्रत्यक्ष निर्वाचित हुनेछन् भने ५१ जना सदस्य पार्टी सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। साथै सातै प्रदेशका प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा केन्द्रीय समितिमा रहनेछन्।

    पार्टीभित्र चर्चाको विषय बनेको अर्को पक्ष भनेको सभापतिलाई दिइएको मनोनयन अधिकार हो। विधानले सभापतिलाई ५१ जना सदस्य मनोनीत गर्ने अधिकार दिएको छ, जसअन्तर्गत निर्वाचनमा पराजित भएका उम्मेदवारहरूलाई समेत केन्द्रीय समितिमा समावेश गर्न सकिने व्यवस्था रहेको बताइएको छ।

    पार्टी स्रोतका अनुसार निर्वाचन परिणामपछि पनि योग्य र आवश्यक ठानिएका व्यक्तिहरूलाई मनोनयनमार्फत नेतृत्व संरचनामा ल्याउने बाटो खुला राखिएको छ। यसले निर्वाचनमा सफलता हासिल गर्न नसकेका नेताहरूलाई समेत केन्द्रीय समितिमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ।

    महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरू भरतपुर पुगिसकेका छन्। पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना र नेतृत्व चयनका दृष्टिले यस महाधिवेशनलाई रास्वपाको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। तीन दिनसम्म चल्ने कार्यक्रमअन्तर्गत उद्घाटन सत्र, नीति तथा विधानमाथि छलफल र नेतृत्व चयनका प्रक्रिया सम्पन्न हुनेछन्।