७ असार २०८३ आईतबार | 21 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चितवनमा रास्वपाको प्रथम महाधिवेशन सुरु, रवि, बालेन र गगन एउटै मञ्चमा



  • अञ्जना ढकाल
  • ३ घण्टा अघि
  • पाठक संख्या १६
  • चितवन, असार ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा औपचारिक रूपमा सुरु भएको छ।

    महाधिवेशन उद्घाटन समारोहमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा एउटै मञ्चमा उपस्थित भएका छन्।

    महाधिवेशनको उद्घाटन लामिछाने र शाहले संयुक्त रूपमा घण्टी बजाएर गरेका थिए। त्यसपछि बालेन शाहले कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि घण्टी बजाउन आग्रह गरेपछि सबै नेताहरूले सामूहिक रूपमा उद्घाटन समारोहमा सहभागिता जनाएका थिए।

    उद्घाटन सत्रमा कांग्रेसका गगनकुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।

    रास्वपाका अनुसार महाधिवेशनअन्तर्गत हुने बन्दसत्रमा राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनमाथि छलफल गरिनेछ। महाधिवेशनमा देशभरबाट चयन भएका चार हजार २११ प्रतिनिधिको सहभागिता रहेको छ।

    सातै प्रदेश, प्रवास, समायोजन तथा मनोनयन प्रक्रियामार्फत प्रतिनिधि छनोट गरिएको रास्वपाले जनाएको छ। यसैबीच, नयाँ केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रमसमेत सार्वजनिक भइसकेको छ।