७ असार २०८३ आईतबार | 21 Jun 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रास्वपा महाधिवेशनमा गगन थापा सहभागी हुने



  • अञ्जना ढकाल
  • ४ घण्टा अघि
  • पाठक संख्या ३४
  • काठमाडौं, असार ७ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा सहभागी हुने भएका छन्। रास्वपाको निमन्त्रणापछि थापा आज चितवन पुग्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन्।

    महाधिवेशनलाई लक्षित गर्दै गगन थापाले रास्वपा र पार्टी सभापति रवि लामिछानेलाई शुभकामना सन्देशसमेत दिएका छन्। उनले छोटो अवधिमै रास्वपाले राष्ट्रिय राजनीतिमा आफ्नो प्रभावशाली उपस्थिति स्थापित गरेको उल्लेख गर्दै आगामी यात्रा सफल रहोस् भन्ने कामना गरेका छन्।

    थापाले महाधिवेशन पार्टीलाई विचार, संगठन र नीतिगत दृष्टिले थप मजबुत बनाउने अवसरका रूपमा रहेको बताएका छन्। साथै लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको संरक्षणमा पार्टी अझ जिम्मेवार र उत्तरदायी बन्ने विश्वास व्यक्त गरेका छन्।

    रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने जनाइएको छ। नेकपा एमालेका प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।

    यसैगरी, काठमाडौं महानगरपालिकाका प्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरिसकेका छन्। विभिन्न दलका नेताहरूको उपस्थितिले रास्वपाको प्रथम महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।