८ असार २०८३ सोमबार | 22 Jun 2026 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ



  • अञ्जना ढकाल
  • २ घण्टा अघि
  • पाठक संख्या २९
  • धनगढी, असार ८ - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममै हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

    महेन्द्रनगरस्थित एक होटलमा आयोजित कार्यक्रममा वडाध्यक्ष देवकोटासँग भएको भनाभनपछि कुँवरले मुक्का प्रहार गरेको आरोप लगाइएको छ। घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ।

    घटनालगत्तै वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्। सोही आधारमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    यता पत्रकार कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष देवकोटाले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। घटनाबारे दुवै पक्षबाट फरक–फरक दाबी आएपछि वास्तविकता छानबिनबाट खुल्ने अपेक्षा गरिएको छ।

    कुँवर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्यसमेत हुन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।