चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरु हुने भनिएको बन्दसत्र प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्दा निर्धारित समयमै सञ्चालन हुन सकेन।
महाधिवेशनको कार्यतालिकाअनुसार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी भए पनि प्रतिनिधिहरूको विवरण सच्याउने काम जारी रहेकाले कार्यक्रम पछाडि धकेलिएको हो। निर्वाचन समितिले प्रतिनिधिहरूको नाम, ठेगाना तथा अन्य व्यक्तिगत विवरणमा देखिएका त्रुटि सुधार गर्ने काम भइरहेको जनाएको छ।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधिहरूको अन्तिम सूची तयार पार्ने प्रक्रिया जारी रहेको र त्यसपछि मात्र बन्दसत्र सञ्चालन हुने जानकारी दिए। उनका अनुसार केही प्रदेशबाट छनोट भएका प्रतिनिधिको विषयमा समेत विवाद देखिएकाले सूचीलाई अन्तिम रूप दिन समय लागेको हो।
विशेषगरी मधेससहित केही प्रदेशका प्रतिनिधि चयन प्रक्रियामा देखिएको असहमति तथा व्यक्तिगत विवरण नमिल्दा परिचयपत्र निर्माणमा समेत समस्या उत्पन्न भएको बताइएको छ। यसले बन्दसत्रको तयारीलाई प्रत्यक्ष असर पारेको छ।
निर्वाचन समितिले आइतबार करिब चार हजार प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो। तर त्यसपछि प्राप्त गुनासा र सच्याउनुपर्ने विवरणका कारण अन्तिम सूची प्रकाशनमा ढिलाइ भएको हो।
महाधिवेशनस्थल आसपास भने प्रतिनिधि तथा पार्टी कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। बन्दसत्रमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नुका साथै सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
प्रतिनिधिको टुंगो लागेपछि बन्दसत्र अपराह्नतिर मात्रै सुरु हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस