काठमाडौं, वैशाख २८ - प्रधानमन्त्री तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाह (बालेन) लगातार दोस्रोपटक पनि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री उपस्थित नभएपछि कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरू बैठकमा सहभागी भएनन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई तथा सांसद अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा अनुपस्थित रहेका थिए ।
कांग्रेसले सुकुमवासी बस्ती हटाउने विषय, सुरक्षा प्रशासन र गृह मन्त्रालयसँग सम्बन्धित अन्य मुद्दामा प्रधानमन्त्रीसँग प्रत्यक्ष जवाफ माग्नुपर्ने अवस्था रहेको बताएको छ । तर प्रधानमन्त्री नै बैठकमा नआएपछि छलफलको औचित्य नरहेको कांग्रेसको भनाइ छ ।
संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्री उपस्थित हुने सुनिश्चितता भए मात्र कांग्रेस बैठकमा सहभागी हुने स्पष्ट पारे । उनले समिति सभापति हरि ढकाललाई पटक–पटक प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन आग्रह गरिएको जानकारी पनि दिए ।
“हामीले गम्भीर विषयमा प्रधानमन्त्रीसँग जवाफ खोजिरहेका छौं । उहाँ उपस्थित नभएसम्म बैठक केवल औपचारिकतामा सीमित हुन्छ,” आङ्देम्बेले बताए ।
प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दोस्रोपटक प्रभावित बनेको हो ।
प्रतिक्रिया दिनुहोस