काठमाडौं, वैशाख २८ - काठमाडौंको एकान्तकुना क्षेत्रमा यात्रुमाथि हातपात गर्ने एक बसका सहचालक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुर साल्पासिलिचो गाउँपालिका–४ का २६ वर्षीय कुशाङ्ग शेर्पा रहेका छन् । उनी हाल काठमाडौंको सुकेधारामा बस्दै आएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीका अनुसार यात्रुलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि ट्राफिक प्रहरीले खोजी सुरु गरेको थियो । त्यसपछि शेर्पालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको उनले जानकारी दिए ।
सार्वजनिक यातायातमा यात्रुमाथि दुर्व्यवहार भएको घटनापछि सामाजिक सञ्जालमा चालक तथा सहचालकको व्यवहारप्रति व्यापक आलोचना भएको छ । प्रहरीले यस्ता गतिविधिमाथि कडाइ गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस