काठमाडौं, जेठ १२ - काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४के टेलिभिजनलाई १५ दिनभित्र बहाल रकम बुझाएर आफ्नो सामान उठाउन अन्तिम चेतावनी दिएको छ। तोकिएको समयभित्र कुनै कार्य नगरेमा महानगरपालिकाले टेलिभिजनका सामग्री लिलाम गर्ने तयारी गरेको छ।
महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बहाल रकम बुझाई आफ्नो सरसामान लैजानुपर्नेछ, नभए लिलाम प्रक्रिया अगाडि बढाइनेछ।”
यो विवाद वडा नं ३ का घरधनी मृगेन्द्र प्रसाद मिश्रले दर्ता गरेको मुद्दाबाट सुरु भएको हो। उनले गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राई विरुद्ध घरजग्गा खाली गराउन र बहाल रकम असुल गर्न अदालतमा निवेदन दिएका थिए।
न्यायिक समितिले २०८१ कात्तिक १४ मा घरजग्गा खाली गराउने र बहाल रकम प्रतिवादीबाट तिर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ मा परमादेश जारी गर्दै दुई महिनाभित्र कार्यान्वयन गर्न निर्देशन दिएको थियो।
महानगरको टोलीले २०८२ कात्तिक १४ मा घरजग्गा खाली गराए पनि ग्यालेक्सी ४के टेलिभिजनका सामग्री अझै सोही स्थानमा रहेको छ। घरधनीले २०८१ वैशाख २१ मा ती सामानहरू लिलाम गराउने निवेदन दिएका थिए।
हाल गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई फरार छन् भने टेलिभिजन बन्द अवस्थामा छ। महानगरपालिकाले तोकिएको १५ दिने समयसीमा भित्र सामान नलगेमा ‘काठमाडौं महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५’ को दफा ७० अनुसार लिलाम प्रक्रिया अगाडि बढाउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस