काठमाडौं, असार २५ - नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले गठन गरेको संविधान संशोधन बहस कार्यदलबाट राजनीतिक दलहरू बाहिरिने अवस्था आउने विषय आफूहरूलाई पहिले नै जानकारी रहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले वैशाखमै यस्तो अवस्था आउन सक्ने अनुमान गरिसकेको बताएका हुन्।
उनले सबै राजनीतिक दलले ढिलै भए पनि आफ्ना प्रतिनिधि फिर्ता बोलाएको उल्लेख गर्दै कांग्रेसले भने त्यसअघि नै संविधान संशोधनबारे आन्तरिक तथा अन्य पक्षसँग छलफल सुरु गरिसकेको बताए। कार्यदलमा कांग्रेसले प्रतिनिधि नपठाएको पनि उनले स्पष्ट पारे।
सभापति थापाका अनुसार संविधान संशोधनका लागि कांग्रेसले सुरुदेखि नै दुई विकल्प अघि सारेको छ। उनले सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीश तथा विज्ञहरू सम्मिलित समिति बनाएर प्रक्रिया सुरु गर्न सकिने वा संसद्भित्रै समिति गठन गरेर अघि बढ्न सकिने धारणा राखे।
उनले संविधान संशोधन जस्तो गम्भीर विषयमा प्राथमिकता र प्रक्रिया स्पष्ट हुनुपर्ने बताए। संविधानले १० वर्षपछि पुनरावलोकन गर्नुपर्ने भनेर औंल्याएका विषयलाई पहिलो चरणमा संशोधन गर्नुपर्ने कांग्रेसको धारणा रहेको उनको भनाइ थियो।
थापाले तत्काल शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताजस्ता संवेदनशील विषयमा प्रवेश गर्दा पर्याप्त विश्वासको वातावरण आवश्यक पर्ने बताए।
उनले सबै विषय एकैपटक खोल्दा देश थप जटिल परिस्थितिमा फस्न सक्ने भन्दै संविधान संशोधनलाई चरणबद्ध र सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस